त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो:
रहस्य
पृथ्वीका वेश्याहरू
र घिनलाग्दा कुराहरूकी आमा
महान् बेबिलोन।
अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें।
त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु। तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे। तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ। त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ।
“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्। तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्। तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”
ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्। अनि तिमीले देखेका ती दश सीङ र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन्, र त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्। किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेल एक मनका भई तिनीहरूले आफ्नो राजकीय शक्ति त्यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो! तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्व गर्छ।