YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:19-28

भजनसंग्रह 35:19-28 NNRV

अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्‌, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्‍यपूर्वक खिसी गर्न नपाऊन्‌। तिनीहरू त शान्‍तिको कुरै गर्दैनन्‌, तर देशमा शान्‍तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्‍छन्‌। ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्‍छन्‌, “आहा! आहा! हामीले आफ्‍नै आँखाले यो देख्‍न पायौं।” हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, मौन नबस्‍नुहोस्‌। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्‌। उठ्‌नुहोस्‌, र मेरो रक्षाको निम्‍ति जाग्‍नुहोस्‌। हे परमप्रभु, मेरा परमेश्‍वर, मेरो निम्‍ति लड़िदिनुहोस्‌। हे मेरा परमप्रभु परमेश्‍वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्‌। ममाथि तिनीहरू रमाउन नपाऊन्‌। तिनीहरूले आफ्‍ना मनमा, “आहा! हामीले चिताएका पुग्‍यो” भन्‍न नपाऊन्‌, अथवा “हामीले त्‍यसलाई निलिदियौं” भन्‍न नपाऊन्‌। मेरो आपत्‌को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून्‌ र अस्‍तव्‍यस्‍त होऊन्‌। मभन्‍दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून्‌ र अपमानित होऊन्‌। म दोष-मुक्त भएको कामना राख्‍नेहरू आनन्‍दले जयजयकार गरून्‌ र हर्षित होऊन्‌। तिनीहरूले निरन्‍तर यसो भनिरहून्‌, “परमप्रभुको नाम उच्‍च होस्‌, जो आफ्‍नो दासको कल्‍याणमा प्रसन्‍न हुनुहुन्‍छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।