YouVersion लोगो
खोज आइकन

हितोपदेश 6:1-15

हितोपदेश 6:1-15 NNRV

हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने, यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने, तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌! आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे। शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌। ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌! त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ। ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌? क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ। बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ, जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ। आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ। त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ। त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ, उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।