गन्ती 35
35
लेवीका सहरहरू
1परमप्रभुले यरीहोदेखि पारि यर्दनको किनारनेर मोआबको मैदानमा मोशालाई भन्नुभयो, #यहो २१:१-४२ 2“आफ्नो अधिकारमा परेको हिस्साबाट लेवीहरू बस्नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्गा दे। 3सहरहरूमा चाहिँ तिनीहरू बसून्। खर्कचाहिँ तिनीहरूका गाई-गोरु, भेड़ाबाख्रा र तिनीहरूका अरू सबै बस्तुहरूका निम्ति होस्।
4“सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्। 5तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्नू। तिनीहरूका सहरको खर्क यही हो।
शरण-नगरहरू
6“तिमीहरूले लेवीहरूलाई दिएका सहरहरूबाट छ वटा चाहिँ शरणनगरहरू हुनेछन्। ज्यानमारा त्यहाँ भागेर बस्न सक्छ। यीबाहेक तिमीहरूले लेवीहरूलाई बयालीस वटा सहरहरू दिनू। 7लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्मा अठचालीस वटा हुनुपर्छ। 8इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनू। जस-जसका जति सहरहरू छन्, त्यही अन्दाज गरी लेवीहरूलाई सहरहरू दिनू।”
9फेरि परमप्रभुले मोशालाई भन्नुभयो, #व्य १९:१-१३; यहो २०:१-९ 10“इस्राएलीहरूलाई भन्: ‘तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुगेपछि, 11त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे मार्यो भने ज्यानमारा त्यहाँ भागोस्। 12ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खड़ा नहोउञ्जेल नमारिओस्। 13तिमीहरूले दिने शरण-नगरहरूको संख्या छ वटा होस्। 14यर्दन वारि पूर्वपट्टि तीन वटा सहर, कनान देशमा तीन वटा सहर शरण-नगरको निम्ति छुट्ट्याउनू। 15इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा अरू प्रवास गर्नेहरूका निम्ति ती सहर छ वटा शरण-नगरहरू हुनेछन्। यसरी अजानमा कसैको ज्यान लिने व्यक्ति त्यहाँ भागेर जान सक्छ।
16“‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ। 17यदि कुनै मानिसले कसैलाई ढुङ्गाले हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ। 18अथवा कुनै मानिसले काठको घातक हतियार लिएर कसैलाई हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै ठहर्छ। त्यो हत्यारालाई प्राणदण्ड दिनैपर्छ। 19रगतको साटो फेर्न चाहने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसलाई भेट्ने बित्तिकै उसले हत्यारालाई मारोस्। 20रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्यो वा ढुकेर झटारो हानी मार्यो भने, 21अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्यो भने, प्रहार गर्ने व्यक्ति मारिनैपर्छ। त्यो हत्यारा हो। रगतको साटो लिने व्यक्तिले त्यसलाई जहाँ फेला पार्छ त्यहीँ मारोस्।
22“‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मर्यो भने, 23वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने, 24समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ। 25समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस्। अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस्।
26“‘तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो, 27र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई मार्यो भने, त्यो रगतको दोषी हुनेछैन। 28किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो। प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्।
29“‘तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्ताहरूमा यो विधिविधान कायम रहनेछ।
30“‘कसैले कसैको हत्या गर्यो भने त्यस हत्यारालाई साक्षीहरूले दिएको सबूतको आधारमा मात्रै प्राणदण्ड मिलोस्। तर एउटा मात्र साक्षीको गवाहीमा चाहिँ कसैलाई प्राणदण्ड नदिनू। #व्य १७:६; १९:१५
31“‘प्राणदण्ड पाउने योग्यको हत्यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनू। त्यसलाई प्राणदण्ड दिनैपर्छ।
32“‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्।
33“‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन। 34आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”
अहिले सेलेक्ट गरिएको:
गन्ती 35: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012