YouVersion लोगो
खोज आइकन

गन्ती 32

32
रूबेन र गादका सन्तान
1रूबेन र गादका सन्‍तानका बथानका बथान गाईबस्‍तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन्‌ भनी देखे। #व्‍य ३:१२-२२ 2यसैले गाद र रूबेनका सन्‍तान मोशा, एलाजार पूजाहारी र समुदायका नायकहरूकहाँ आएर यसो भने, 3“अतारोत, दीबोन, याजेर, निम्रा, हेश्‍बोन, एलाले, सबाम, नेबो र बओन— 4जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्‍ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्‌। हामीसँग गाईबस्‍तु पनि छन्‌। 5यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्‌। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्‌।”
6मोशाले गाद र रूबेनका सन्‍तानलाई भने, “तिमीहरूका दाजुभाइ उता लड़ाइँमा जाँदा तिमीहरूचाहिँ यता ढुक्‍कै बस्‍छौ? 7परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्‍छौ? 8कादेश-बर्नेबाट मैले तिमीहरूका बुबाहरूलाई यो देशको चेवा गर्न पठाउँदा तिमीहरूका बुबाहरूले यसै गरेका थिए। #गन्ती १३:१७-३३ 9जब तिनीहरू एश्‍कोलको बेँसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन्‌ भनी तिनीहरूले इस्राएलीहरूका चित्त खलबल पारिदिएका थिए। 10त्‍यस दिन परमप्रभु क्रोधित हुनुभयो, र यसो भनेर शपथ खानुभएको थियो: #गन्ती १४:२६-३५ 11‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्‍न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्‌। 12कनज्‍जी यपुन्‍नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्‍न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्‍पूर्ण रूपले परमप्रभुलाई पछ्याए’। 13इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्‍टिमा दुष्‍टता गर्ने पुस्‍ताका जम्‍मै नष्‍ट नहोउञ्‍जेल चालीस वर्षसम्‍म उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा यताउता डुलाउनुभयो।
14“ए पापिष्‍ठका सन्‍तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ। 15तिमीहरूले उहाँलाई पछ्याउन इन्‍कार गर्‍यौ भने, उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड़-स्‍थानमै त्‍याग्‍नुहुनेछ र तिनीहरूका विनाशको कारण तिमीहरू बन्‍नेछौ।”
16तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्‍ना भेड़ाहरूका निम्‍ति खोर अनि आफ्‍ना स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू यहाँ बनाउन चाहन्‍छौं, 17तर हामी आफैचाहिँ इस्राएलीहरूलाई तिनीहरूका ठाउँमा नपुर्‍याउञ्‍जेल तिनीहरूका अगि लागेर सशस्‍त्र जान तयार छौं। यसै बीचमा हाम्रा स्‍त्री र बालबच्‍चाहरूचाहिँ यस मुलुकका मानिसहरूबाट ती सहरहरूका पर्खालभित्र सुरक्षित रहनेछन्‌। 18इस्राएलको हरेक मानिसले आफ्‍नो अधिकारको हिस्‍सा नपाउञ्‍जेल हामी घर फर्कनेछैनौं। 19यर्दन पारिपट्टि र त्‍यसदेखि उता तिनीहरूसित हामीहरू हिस्‍सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्‍सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।”
20तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्‍ने तिमीहरू सशस्‍त्र लड़ाइँमा जान्‍छौ, 21अनि यदि परमप्रभुले आफ्‍ना शत्रुहरूलाई धपाएर देश परास्‍त नगरुञ्‍जेल तिमीहरू परमप्रभुको अगि सशस्‍त्र यर्दन पारि गयौ भने, 22जब परमप्रभुको सामुन्‍ने त्‍यो देश वशमा हुन्‍छ, तब तिमीहरू फर्कन सक्‍छौ। अनि परमप्रभु र इस्राएलतर्फ तिमीहरूको कर्तव्‍यबाट तिमीहरू मुक्त हुनेछौ। तब यो मुलुक परमप्रभुको सामु तिमीहरूको अधिकारमा आउनेछ।
23“तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्‍य तिमीहरूलाई फेला पार्नेछ। 24तिमीहरूका स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाओ, तर तिमीहरूले गरेका प्रतिज्ञा पनि पूरा गर।”
25तब गाद र रूबेनका सन्‍तानले मोशालाई भने, “हजूरले आज्ञा गर्नुभएअनुसार हामीहरू गर्नेछौं। 26हाम्रा बालकहरू, पत्‍नीहरू, भेड़ाबाख्रा र गाई-गोरु सबै यहीँ गिलादका सहरहरूमा रहनेछन्‌। 27तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्‍त्र पारि जानेछौं।”
28तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए। #यहो १:१२-१५ 29मोशाले तिनीहरूलाई यसो भने, “गाद र रूबेनका सन्‍तान तिमीहरूका साथमा परमप्रभुको सामु लड़ाइँमा सशस्‍त्र यर्दन पारि गए भने, जब देश तिमीहरूको कब्जामा आउनेछ तब तिमीहरूले गिलाद देश तिनीहरूको अधिकारमा दिनू। 30तर तिनीहरू अस्‍त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन्‌ भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्‍सा पाउनेछन्‌।”
31गाद र रूबेनका सन्‍तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्‍नुभएको छ हामी गर्नेछौं। 32हामीहरू हातहतियार भिरेर परमप्रभुको सामु पारि कनान देशमा जानेछौं, तर हाम्रो अधिकारको भाग हामीलाई यर्दन वारि नै होस्‌।”
33तब मोशाले गाद र रूबेनका सन्‍तान र योसेफका छोरा मनश्‍शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्‍य र बाशानका राजा ओगको राज्‍य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्‍पूर्ण देश दिए।
34तब गादका सन्‍तानले दीबोन, अतारोत, अरोएर, 35अत्रोत-शोपान, याजेर योगबहा, 36बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाए। 37रूबेनका सन्‍तानले हेश्‍बोन, एलाले र किर्यातैम, 38नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्‌लिएका छन्‌), र सिब्‍मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।
39मनश्‍शेका छोरा माकीरका सन्‍तान गिलादमा गए, र त्‍यो कब्‍जा गरेर त्‍यहाँ भएका एमोरीहरूलाई निकालिदिए। 40यसकारण मोशाले मनश्‍शेका छोरा माकीरका सन्‍तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्‍यहीँ नै बसोबास गरे। 41मनश्‍शेका सन्‍तान याईर गएर त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबको नाउँ हब्‍बात-याईर राखे। 42अनि नोबहचाहिँ गएर केनात र त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबलाई आफ्‍नै नाउँ नोबह दिए।

अहिले सेलेक्ट गरिएको:

गन्ती 32: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्