YouVersion लोगो
खोज आइकन

गन्ती 29:1-11

गन्ती 29:1-11 NNRV

“‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। त्‍यो तिमीहरूका निम्‍ति तुरही बजाउने दिन हो। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ। तिनका अन्‍नबलिको निम्‍ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। साथै तिमीहरूको प्रायश्‍चित गर्नलाई पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्‍नबलि र अर्घ-बलिहरूबाहेक होऊन्‌। यी परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्‌। “‘त्‍यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्‍खोट होऊन्‌। अनि तिनका अन्‍नबलिको निम्‍ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्‍चितको पापबलि र नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।