तब इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा गए र यरीहोदेखि पारि यर्दनको किनारमा पाल टाँगे।
इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे, र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्याकुल भए।
मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्वाहा पारेझैँ पार्नेछ।”
त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। उनले यूफ्रेटिसनेर भएका, आफ्ना जात-भाइको मुलुक पतोरमा बओरका छोरा बालामकहाँ यसो भनेर खबर पठाए,
“मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो। तिनीहरू मेरै सिमानामा आएर बसेका छन्। अब आएर मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनकि तिनीहरू मभन्दा ज्यादै शक्तिशाली छन्। त्यसो गर्नुभएमा शायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूँला। किनभने मलाई थाहा छ, तपाईंले जसलाई आशिष् दिनुहुन्छ त्यसलाई आशिष् लाग्छ, र जसलाई सराप दिनुहुन्छ त्यसलाई सराप लाग्छ।”
मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए।
बालामले उनीहरूलाई भने, “आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले जस्तो मसँग बोल्नुहुन्छ, म त्यही तपाईंहरूलाई बताइदिनेछु।” यसैले मोआबका मुख्य व्यक्तिहरू बालामकहाँ वास बसे।
परमेश्वर बालामकहाँ आएर भन्नुभयो, “तँसँग बसेका यी मानिसहरू को हुन्?”
बालामले परमेश्वरलाई भने, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्, ‘मिश्रबाट निस्किआएको एउटा जातिले समस्त देश ढाकेको छ। अब आएर मेरो निम्ति तिनीहरूलाई सराप दिनुहोस्। यसो गर्नुभएमा शायद मैले तिनीहरूसँग लड़ाइँ गरेर तिनीहरूलाई धपाउन सकूँला’।”
तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्यो जातिलाई सराप्नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्।”
तब बालाम बिहान सबेरै उठे, र बालाकका मुख्य व्यक्तिहरूलाई भने, “तपाईंहरू आफ्नो देशमा जानुहोस्, किनकि मलाई तपाईंहरूका साथमा जान दिन परमप्रभुले इन्कार गर्नुभयो।”
अनि मोआबका मुख्य व्यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्।”
तब बालाकले फेरि पनि धेरै र तीभन्दा ठूला दर्जाका व्यक्तिहरू पठाए। उनीहरू बालामकहाँ आएर भने,
“सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्। तपाईंलाई ठूलो इज्जत दिएर सम्मानित तुल्याउनेछु। जे तपाईं भन्नुहुन्छ त्यही म गर्नेछु। यसकारण कृपा गरी आउनुहोस्, र त्यस जातिलाई सराप दिनुहोस्।”
तर बालामले बालाकका दूतहरूलाई यसो भनेर जवाफ दिए, “बालाकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्दिनँ। अब अरूहरूले गरेझैँ तपाईंहरू पनि आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले मलाई अझ अरू के भन्नुहुन्छ, म थाहा पाउनेछु।”
परमेश्वर त्यस राती बालामकहाँ आएर तिनलाई भन्नुभयो, “यी मानिसहरू तँलाई डाक्न आएका हुन्। यसकारण यिनीहरूका साथमा जा, तर म तँलाई जे-जे कुरा भन्छु, त्यही मात्र तैंले गर्।”