गन्ती 12
12
मोशाप्रति हारून र मिरियमको विरोध
1मोशाकी कूशी पत्नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे, किनभने तिनले कूशी पत्नी ल्याएका थिए। #प्रस १५:२० 2तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्नभयो।
3मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।
4परमप्रभुले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए। 5तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए, 6तब उहाँले भन्नुभयो, “अब मेरो कुरा सुन:
“जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ,
तब म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्छु,
त्यससँग सपनामा कुरा गर्छु।
7तर मेरो दास मोशासित त म त्यसो गर्दिनँ। #हिब ३:२
त्यो त मेरा सबै घरानामा विश्वासी छ।
8त्यससँग म गुप्त रीतिले होइन,
तर आमनेसामने प्रष्टसँग कुरा गर्छु,
र मेरो स्वरूप त्यसले हेर्छ।
यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्न तिमीहरूलाई किन डर लागेन?”
9अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो।
10पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँजस्तै सेती भइसकेकी थिइन्। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। 11हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्ड हामीले भोग्नु नपरोस्। 12आमाको गर्भबाट निस्कँदै आधा कुहेर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्।”
13तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्।”
14तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसको बुबाले त्यसको मुखमा थुकिदिएको भए, के त्यो सात दिनसम्म शर्ममा पर्ने थिइन र? त्यसलाई सात दिनसम्म छाउनीबाहिरै थुनिराख्, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनू।” #गन्ती ५:२-३ 15तब मिरियम सात दिनसम्म छाउनीबाहिर थुनिइन्, र मिरियमलाई भित्र नल्याउञ्जेल मानिसहरू पनि अगाड़ि बढ़ेनन्।
16त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।
अहिले सेलेक्ट गरिएको:
गन्ती 12: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012