तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन् भन्ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्यहाँ तेरो साथमा उभिऊन्। म तल आएर त्यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्नेछन्, र तैंले एकलै बोक्नु नपरोस्। “तैंले मानिसहरूलाई भन्: ‘भोलिको निम्ति तिमीहरूले आफूलाई चोख्याउनू, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, “हामीले मासु खान पाए त हुन्थ्यो! हामीलाई मिश्रदेश नै असल थियो।” अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ, र तिमीहरूले त्यो खानेछौ। दुई-चार या दश-बीस दिन मात्र होइन, तर नाकबाट निस्केर वाक्क लागेसम्म तिमीहरूले महिनाभरि त्यो खानेछौ। किनभने तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गरेर उहाँकै सामुन्ने “हामी किन मिश्रबाट निस्केर आयौं नि?” भनी रोएका छौ’।” तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू मारेर यतिका मान्छेलाई पुग्छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्छ र?” परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्यो तैंले देख्नेछस्।” यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्याए। तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्यसो गरेनन्। तर त्यहाँ छाउनीमा एल्दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्। तर आत्मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे। तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्।” युवावस्थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्नुहोस्।” तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्ना आत्मा आफ्ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।” तब मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्के। अनि परमप्रभुले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू ल्यायो, र छाउनीको वरिपरि एक-एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्लो हुने गरी ती बसे। मानिसहरूले त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि पनि ती समाते। थोरैभन्दा थोरै बटुल्नेले पनि पच्चीस मुरी बटुले। तिनीहरूले आफ्ना निम्ति छाउनीका चारैतिर ती फिँजाए। तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्क्यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो।
गन्ती 11 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:16-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू