YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 1:3-11

नहेम्‍याह 1:3-11 NNRV

तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।” यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें। तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ। इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं। तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं। “आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’। “तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌। हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।