उहाँले तिनीहरूलाई भन्नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र? कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन। यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।”
उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ। किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।”
उहाँले भन्नुभयो, “परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ, र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ। तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ।”
उहाँले फेरि भन्नुभयो, “परमेश्वरका राज्यको तुलना केसँग गरौं? अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि जब त्यो छरिन्छ, तब त्यो बढ्छ, र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ, र त्यसले ठूला-ठूला हाँगाहरू हाल्छ, र आकाशका पक्षीहरूले त्यसका छहारीमा गुँड़ लाउँछन्।”
तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। दृष्टान्तविना उहाँ तिनीहरूसँग बोल्नुभएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो।
त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो।
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, “यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्।”