YouVersion लोगो
खोज आइकन

मर्कूस 2:3-12

मर्कूस 2:3-12 NNRV

अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए। येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए, “यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?” अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ? पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।” त्‍यो उठ्यो, र तुरुन्‍तै खाट उठाएर सबैका सामुन्‍नेबाट गइहाल्‍यो। यहाँसम्‍म कि, सबै जना आश्‍चर्य-चकित भए, र “हामीले यस्‍तो त कहिल्‍यै देखेका छैनौं” भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे।