बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।” तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे। निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। तीमध्ये बारब्बा नाउँको एक जना त्यहाँ थियो। भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो। पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” किनकि ईर्ष्याले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो। तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ त?” तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन् साह्रो गरी चिच्च्याएर तिनीहरूले भने, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।
मर्कूस 15 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 15:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू