जब उहाँ मन्दिरबाट निस्कँदैहुनुहुन्थ्यो, तब उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू।” येशूले तिनलाई भन्नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछन्।” अनि उहाँ मन्दिरको सामुन्ने जैतून डाँड़ामा बस्नुहुँदा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, “हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन्? र यी सब कुरा पूरा हुनका निम्ति के चिन्ह हुनेछ?” येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्ला सुन्नेछौ, तब नडराओ। यस्ता घटनाहरू हुनु आवश्यक छ। तर अन्त्यको दिन आउनु अझ बाँकी नै छ। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। योचाहिँ स्त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्टको आरम्भ हो। “तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ। र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ, त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ। “एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ।
मर्कूस 13 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 13:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू