YouVersion लोगो
खोज आइकन

मर्कूस 11:1-11

मर्कूस 11:1-11 NNRV

जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।” तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए। त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?” येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए। तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो। धेरैले आफ्‍ना वस्‍त्रहरू र अरूहरूले मैदानबाट स्‍याउलाहरू काटेर बाटोमा ओछ्याए। अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! धन्‍य होस्, हाम्रा पिता दाऊदको त्‍यो आउने राज्‍य, परमधाममा होसन्‍ना!” उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।