मत्ती 6:28-34

मत्ती 6:28-34 NNRV

“अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌। तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र? यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ। तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

मत्ती 6:28-34 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति