“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
“यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
“फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर।
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।”