YouVersion लोगो
खोज आइकन

मत्ती 27:1-14

मत्ती 27:1-14 NNRV

बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए। तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो, र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।” तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो। तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।” तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।” येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?” तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे।