YouVersion लोगो
खोज आइकन

मत्ती 24:1-14

मत्ती 24:1-14 NNRV

त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।” येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?” तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌। तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌। दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ। अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।