YouVersion लोगो
खोज आइकन

मत्ती 23:23-39

मत्ती 23:23-39 NNRV

“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्‍छौ, तर व्‍यवस्‍थाका गहकिला विषयहरू, अर्थात्‌ न्‍याय, दया र विश्‍वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। अन्‍धा अगुवा हो, तिमीहरू भुसुना चाल्‍दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्‍दछौ। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्‍दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्‍छन्‌। अन्‍धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्‌। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्‍मारकलाई सिङ्गार्छौ, र भन्‍दछौ, ‘हामी आफ्‍ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्‍या गर्नेका सन्‍तान हौ भन्‍ने प्रमाण तिमीहरू आफै दिन्‍छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। “सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरू पठाउँछु। तिनीहरूमध्‍ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ, र कति जनालाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ। पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा यसै पुस्‍तामाथि आइपर्नेछन्‌। “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। किनभने म तिमीहरूलाई भन्‍दछु, ‘परमप्रभुको नाउँमा आउने धन्‍यका हुन्’ नभनेसम्‍म तिमीहरूले मलाई देख्‍नेछैनौ।”