मत्ती 14:23-33

मत्ती 14:23-33 NNRV

भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो। तर डुङ्गा त्‍यति बेलासम्‍म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्‍टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्‍च्‍याए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्‍नुभयो, “साहस गर, म नै हुँ, नडराओ।” पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।” उहाँले भन्‍नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे। तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?” जब उहाँहरू डुङ्गामा पस्‍नुभयो तब बतास थामियो। डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”