त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।” किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए। यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।” यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे। तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई। त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।” तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए, र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए। अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई। त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।
मत्ती 14 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू