तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। अनि सबै भीड़ले अचम्म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?”
तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।”
तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
“पहिले बलियो मानिसलाई नबाँधिकन, त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ।
“जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।
“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।”
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ।
“जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन। तब त्यसले भन्छ, ‘जहाँबाट म निस्केर आएँ, त्यहीँ आफ्नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। तब त्यो जान्छ र आफूभन्दा बढ़ी दुष्ट अरू सात वटा भूतात्मा आफूसँग ल्याउँछ, र भित्र पसेर तिनीहरू त्यहाँ वास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।”