YouVersion लोगो
खोज आइकन

लूका 9:10-27

लूका 9:10-27 NNRV

अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्‍ने सहरमा अलग्‍गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो। अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला। तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्‍तिमा बसाओ।” तिनीहरूले त्‍यसै गरे, र सबैलाई बसाए। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्‍त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए। एक पल्‍ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्‌?” तिनीहरूले भने, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना भन्‍छन्, कसैले एलिया, र अरूहरूले भन्‍छन्, पहिलेका कोही अगमवक्ताहरूमध्‍ये एक जना फेरि उठेका छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्‍वरका ख्रीष्‍ट!” तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌। अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट बहिष्‍कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्‌नेछ।” तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ। किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र? तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्‍नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ। तर साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्‍वरको राज्‍य देख्‍न अघि मृत्‍यु चाख्‍नेछैनन्‌।”