त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए। कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए, हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्चिए, र आकाशका पक्षीले खाइहाले। अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्न दिएन। कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो, “तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु, कि
‘तिनीहरूले हेरेर पनि नदेखून्,
र सुनेर पनि नबुझून्।’
अब दृष्टान्त यो हो: बीउचाहिँ परमेश्वरको वचन हो। बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ। ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्यो ग्रहण गर्छन्। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ। काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्। तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगाइराख्छन्, र धैर्यसाथ फल फलाउँछन्।
“कसैले बत्ती बालेर भाँड़ाले छोप्दैन, कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्तछ। कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ, त्यसलाई अझ दिइनेछ, र जससँग छैन, त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”