लूका 24:18-27

लूका 24:18-27 NNRV

ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्‍छ भन्‍ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हामी मध्येका कोही-कोही स्‍त्रीहरूले हामीलाई चकित बनाएका छन्‌। तिनीहरू आज बिहान सखारै चिहानमा गए, र येशूको शरीर भेट्टाएनन्‌। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्‍वर्गदूतहरूलाई देख्‍यौं, जसले येशू जीवित हुनुहुन्‍छ भने।’ हामीहरूमध्‍येका कोही-कोही चिहानमा गए, र ती स्‍त्रीहरूले जे भनेका थिए, त्‍यस्‍तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्‍त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्‍वास गर्दैनौ! के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।