तब बाह्रमध्येको एक जना इस्करियोत भनिने यहूदाभित्र शैतान पस्यो। तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पूजाहारीहरू र कप्तानहरूकहाँ गएर त्यसले सल्लाह गर्यो। तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे। त्यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो।
अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।”
तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग, र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।”
तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे।
अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।”
तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।”
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।”
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ। किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।
अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्। किनभने ठूलो को हो? भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।
“तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ।
“सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”
अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।”
अनि उहाँले भन्नुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।”
येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”
तिनीहरूले भने, “भएन।”
उहाँले भन्नुभयो, “तर अब जसको थैलो छ, त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्। र जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। म तिमीहरूलाई भन्दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।”