YouVersion लोगो
खोज आइकन

लूका 14:1-24

लूका 14:1-24 NNRV

एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए। जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्‍ने थियो। येशूले व्‍यवस्‍थाका पण्‍डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?” तर तिनीहरू चूप लागिरहे, र उहाँले त्‍यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्‍यसलाई जान दिनुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसले आफ्‍नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्‍यो भने त्‍यसलाई झट्टै निकाल्‍दैन?” अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्‌। अनि भोजमा आएका अतिथिहरूले आदरको स्‍थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “विवाहको भोजमा तिमीले कसैको निम्‍तो पायौ भने आदरका स्‍थानमा नबस। तिमीभन्‍दा बढ़ी प्रतिष्‍ठित व्‍यक्तिले त्‍यहाँ निम्‍तो पाएका होलान्‌। तिमीलाई र तिनलाई निम्‍तो दिने मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘यिनलाई बस्‍ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्‍जित भएर सबैभन्‍दा तल्‍लो स्‍थानमा बस्‍नुपर्नेछ। तर जब तिमीले निम्‍तो पाउँछौ, गएर तल्‍लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि गएर बस्‍नोस्‌।’ त्‍यस बेला तिमीसँग खान बस्‍नेहरूका सामुन्‍ने तिम्रो इज्‍जत हुनेछ। किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।” अनि उहाँलाई निम्‍तो दिनेलाई पनि उहाँले भन्‍नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्‍ना मित्रहरूलाई, आफ्‍ना दाजुभाइलाई वा तिम्रा कुटुम्‍बहरूलाई वा धनी छिमेकीहरूलाई निम्‍तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्‍तो दिएर तिम्रो गुण फर्काइदिनेछन्‌। तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ, र तिमीले आशिष्‌ पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्‍दैनन्‌। तर मृत्‍युबाट धर्मीहरूको पुनरुत्‍थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।” उहाँसँग खान बस्‍नेहरूमध्‍ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्‍यो, “त्‍यो धन्‍य हो, जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ!” तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट्‌ भोज तयार गर्‍यो, र धेरैलाई निम्‍तो दियो। उसले आफ्‍नो नोकरलाई भोजन खाने बेलामा निम्‍ताराहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’ “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्‍यसलाई भन्‍यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्‍यो हेर्न जानुपरेको छ। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’ “अनि अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्‍छु। म बिन्‍ती गर्दछु, मलाई माफी होस्‌।’ “अर्कोले भन्‍यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्‍दिनँ।’ “तब नोकरले आएर आफ्‍नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्‍नो नोकरलाई भन्‍यो, ‘सहरका सड़कहरू र गल्‍लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्‍धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’ “तब नोकरले भन्‍यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’ “मालिकले नोकरलाई भन्‍यो, ‘मूल सड़कहरू र गल्‍लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्‌। किनभने म तिमीहरूलाई भन्‍दछु, निम्‍ताराहरूमध्‍ये कसैले पनि मेरो भोजको स्‍वाद चाख्‍न पाउनेछैन’।”