YouVersion लोगो
खोज आइकन

लूका 1:25-45

लूका 1:25-45 NNRV

“मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।” छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो। स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।” तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌। स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।” मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।” स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌। किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए। ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्, र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्‌। जब एलीशिबाले मरियमको अभिवादन सुनिन्‌ तब तिनको गर्भमा बालक उफ्‍र्‍यो, र एलीशिबा पवित्र आत्‍माले भरिपूर्ण भइन्, र एलीशिबाले चर्को सोरले भनिन्, “स्‍त्रीहरूमा तिमी धन्‍यकी हौ, र तिम्रो गर्भको फल धन्‍यको हो। ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌। किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्‍दले उफ्‍र्‍यो। तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।”