लेवीहरू 26:3-13
लेवीहरू 26:3-13 NNRV
“‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ। “‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्। “‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ। तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु।

