YouVersion लोगो
खोज आइकन

लेवीहरू 22:17-33

लेवीहरू 22:17-33 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून, त्‍यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्‌: ‘इस्राएली अथवा इस्राएलमा वास गर्ने परदेशीले भाकल वा राजीखुशीको होमबलि परमप्रभुलाई चढ़ाउँदा, त्‍यो ग्रहणयोग्‍य हुनलाई साँढ़े, भेड़ा वा बोकाहरूबाट निष्‍खोट नरचाहिँ चढ़ाओस्‌। खोट भएको जे छ त्‍यो तिमीहरूले नचढ़ाउनू, किनकि त्‍यो ग्रहणयोग्‍य हुनेछैन। मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्‍नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्‍य हुनलाई त्‍यो सिद्ध र निष्‍खोट हुनुपर्छ। अन्‍धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, यस्‍तालाई तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होमको रूपमा वेदीमा नचढ़ाउनू। तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्‍छ। तर भाकलको बलिमा चाहिँ त्‍यो ग्रहण हुनेछैन। जुन पशुका अण्‍ड कुच्‍च्‍याइएका वा चूर पारिएका, फोरिएका वा चिरिएका हुन्‍छन्, त्‍यो परमप्रभुको निम्‍ति नचढ़ाउनू। तिमीहरूको देशभरि नै त्‍यसो गर्नु निषेध छ। कुनै परदेशीबाट लिएर पनि यस्‍तो कुनै पशु परमेश्‍वरको भोजन स्‍वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्‍ति ग्रहणयोग्‍य हुनेछैन’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “बाछा वा भेड़ाबाख्राका पाठा बियाएको सात दिनसम्‍म त्‍यसकै माउसँग बसोस्‌। आठौँ दिनदेखि त्‍यसलाई आगोद्वारा बलि गरे त्‍यो परमप्रभुमा ग्रहणयोग्‍य हुनेछ। गाई अथवा भेड़ीलाई त्‍यसको पाठासमेत एकै दिनमा नमार्नू। “तिमीहरूले परमप्रभुको निम्‍ति धन्‍यवाद बलि चढ़ाउँदा त्‍यो ग्रहणयोग्‍य हुने गरी चढ़ाओ। त्‍यही दिन त्‍यो खाइओस्‌। त्‍यसमा उब्रेको केही पनि बिहानसम्‍म नछोड़िओस्‌। म परमप्रभु हुँ। “तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ। मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नू। इस्राएलीहरूले म पवित्र छु भनी स्‍वीकार गरून्‌। तिमीहरूलाई पवित्र गराउने, र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।”