यर्दन वारि पश्चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्ति तिनीहरू पार नतरुञ्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन। त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।” तब यहोशूले पत्थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे। यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात् योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्केपछि उजाड़-स्थानको यात्रामा मरिसकेका थिए। मिश्रदेशबाट जति निस्केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्केपछि उजाड़-स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन। इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्केर आएका सारा मानिसहरू, अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड़-स्थानमा चालीस वर्ष हिँड्दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो। यसकारण तिनीहरूको स्थानमा उहाँले फेरि उत्पन्न गराउनुभएको सन्तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए। अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्जेल छाउनीमा आ-आफ्ना ठाउँमा बसे। अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “आजको दिन मिश्रको निन्दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म गिलगाल भनिन्छ। जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्तार-चाड़ मनाए। निस्तार-चाड़को भोलिपल्ट, त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए। तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो, र त्यसपछि इस्राएलीहरूलाई मन्न कहिल्यै पनि मिलेन। तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए।
यहोशू 5 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू