YouVersion लोगो
खोज आइकन

यहोशू 4:1-7

यहोशू 4:1-7 NNRV

जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्‍छे एक-एक पुरुष गरी लिएर तिनीहरूलाई यसो भन्‍ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्‍याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्‍छौ त्‍यहीँ राखिदेओ’।” यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्‍छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए। यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्‍तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्‍नो काँधमा राखेर ल्‍याओ। तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्‍यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्‍दा तिमीहरूले तिनीहरूलाई यसो भन्‍नू, ‘परमप्रभुका करारका सन्‍दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्‍ति सदाका स्‍मारकको रूपमा रहनेछन्‌।”