YouVersion लोगो
खोज आइकन

यहोशू 21

21
लेवीहरूका अठचालीस सहरहरू
1यसपछि लेवीहरूका मुखियाहरूले एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका परिवार-परिवारका मुखियाहरूका नजिक आएर 2कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्‍नका निम्‍ति सहरहरू र हाम्रा बस्‍तुहरूलाई खर्कका निम्‍ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।” #गन्ती ३५:१-८ 3यसर्थ परमप्रभुको हुकुमअनुसार इस्राएलीहरूले लेवीहरूलाई आफ्‍ना अधिकारबाट यी सहरहरू र चरनहरू दिए।
4अनि कहातीका वंश-वंशका नाउँमा पहिलो चिट्ठा निस्‍क्‍यो। लेवीहरूमध्‍येका हारून पूजाहारीका सन्‍तानले यहूदाको कुल, शिमियोनको कुल, र बेन्‍यामीनको कुलबाट तेह्र सहरहरू पाए। 5कहातका बाँकी सन्‍तानले एफ्राइमको कुल, दानको कुल र मनश्‍शेको आधा कुलका वंशहरूबाट दश सहरहरू पाए।
6गेर्शोनका सन्‍तानहरूले इस्‍साखारको कुल, आशेरको कुल, नप्‍तालीको कुल र बाशानमा मनश्‍शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए।
7मरारीका सन्‍तानले तिनीहरूका वंश-वंशअनुसार रूबेनको, गादको र जबूलूनको कुलबाट बाह्र सहरहरू पाए।
8परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएबमोजिम इस्राएलीहरूले लेवीहरूलाई चरनहरूसमेत ती सहरहरू दिए।
9तिनीहरूले यहूदाको कुल र शिमियोनको कुलबाट तल नाउँ लेखिएका यी सहरहरू दिए। 10यी सहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्‍तानका निम्‍ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्‍केको थियो:
11अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) नाउँको सहर र यसका वरिपरिको चरन दिए। (अनाकका पुर्खा अर्बा थिए।) 12तर त्‍यस सहरका खेतहरू र त्‍यसका बस्‍तीहरूचाहिँ तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई अधिकारको निम्‍ति दिएका थिए।
13हारून पूजाहारीका सन्‍तानलाई, ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको हेब्रोन, त्‍यसका चरनसमेत, र लिब्‍ना, 14यत्तीर, एश्‍तमो, 15होलोन, दबीर, 16ऐन, युत्ता, र बेथ-शेमेश, तिनका चरनहरूसमेत— ती दुई कुलबाट नौ वटा सहरहरू तिनीहरूले दिए।
17अनि बेन्‍यामीनको कुलबाट गिबोन, गेबा, 18अनातोत, अल्‍मोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।
19हारून पूजाहारीका सन्‍तानका जम्‍मा तेह्र सहरहरू तिनका चरनहरूसमेत थिए।
20लेवीका कुलका कहातीका बाँकी वंशहरूले चाहिँ एफ्राइमका कुलको भागबाट यी सहरहरू पाए:
21तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको शकेम, त्‍यसका चरनसमेत, र गेजेर, 22किब्‍सैम, बेथ-होरोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।
23दानको कुलबाट तिनीहरूले एल्‍तके, गिब्‍बतोन, 24अय्‍यालोन, गात-रिम्‍मोन, तिनका चरनहरूसमेत चार सहरहरू पाए।
25मनश्‍शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्‍मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए।
26कहातीका बाँकी वंशका जम्‍मा दश सहरहरू तिनका चरनहरूसमेत थिए।
27गेर्शोनीका लेवीका वंशहरूलाई:
मनश्‍शेको आधा कुलबाट बाशानमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको गोलान, त्‍यसका चरनसमेत, र बे-एश्‍तरा, त्‍यसका चरनसमेत— दुई सहरहरू दिइयो।
28इस्‍साखारको कुलबाट किश्‍योन, दाबरत, 29यर्मूत र एन-गन्‍नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
30आशेरको कुलबाट मिशाल, अब्‍दोन,
31हेल्‍कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
32नप्‍तालीको कुलबाट गालीलमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको केदेश, त्‍यसका चरनसमेत, र हम्‍मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो।
33तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्‍मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।
34लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ:
जबूलूनको कुलबाट योक्‍नाम, कर्तह,
35दिम्‍ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
36रूबेनको कुलबाट बेसेर, यहसा, 37कदेमोत र मेपात, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
38गादको कुलबाट गिलादमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको रामोत, त्‍यसका चरनसमेत, र महनोम, 39हेश्‍बोन र याजेर, तिनका चरनहरूसमेत— जम्‍मा चार सहरहरू दिइयो।
40तिनीहरूका वंशअनुसार लेवीका बाँकी मरारीका जम्‍मा बाह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।
41इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्‍मा अठचालीस वटा सहरहरू थिए। 42यी सहरहरूका आ-आफ्‍ना वरिपरि चरनहरू थिए। सबै सहरहरू यही किसिमका थिए।
43यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्‍छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्‍यो आफ्‍नो अधिकारमा लिएर त्‍यसमा बसे। 44अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्‍ये एक जना पनि तिनीहरूका सामुन्‍ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्‍पिदिनुभयो। 45परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।

अहिले सेलेक्ट गरिएको:

यहोशू 21: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्