YouVersion लोगो
खोज आइकन

अय्‍यूब 14:1-14

अय्‍यूब 14:1-14 NNRV

“स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ, त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ। त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन। के तपाईं यस्‍तो प्राणीमाथि दृष्‍टि राख्‍नुहुन्‍छ? के त्‍यसलाई तपाईं आफ्‍नो सामुन्‍ने न्‍यायको लागि ल्‍याउनुहुन्‍छ? अशुद्धबाट कसले शुद्ध निकाल्‍न सक्‍छ? कसैले सक्‍दैन! मानिसको जीवनका दिनहरू तोकिएका छन्, अनि त्‍यसका महिनाको संख्‍या तपाईंले निर्धारण गर्नुभएको छ। र तपाईंले त्‍यसको सीमा ठहराउनुभएको छ, त्‍यसले त्‍यो नाघ्न सक्‍दैन। यसकारण त्‍यसबाट तपाईं आफ्‍नो मुख फर्काउनुहोस्, र ज्‍यालादार मजदूरले जस्‍तै आफ्‍नो समय पूरा नगरेसम्‍म त्‍यसलाई एकलै छोड़िदिनुहोस्‌। रूखको लागि आशा हुन्‍छ: काटियो भने त्‍यो फेरि पलाउने हुन्‍छ, र त्‍यसमा नयाँ पालुवा आउन थामिँदैन। त्‍यसका जराहरू भूइँमा छिपिसके र त्‍यसको ठुटा जमिनभित्र मरे तापनि पानीको गन्‍ध पाएपछि, त्‍यो फेरि पलाउन थाल्‍छ, र कलिलो बोटझैँ त्‍यो पलाएर आउँछ। तर मान्‍छे त मरिहाल्‍छ, र लोप हुन्‍छ। मानिस आफ्‍नो आखिरी अवस्‍थामा आइपुग्‍छ, र त्‍यो रहँदैन। जसरी समुद्रको पानी बिस्‍तार-बिस्‍तार घट्‌दैजान्‍छ, अथवा जसरी नदी घटेर सुकिहाल्‍छ, त्‍यसरी नै मरणशील मानिस ढल्‍छ, र कहिल्‍यै उठ्‌दैन, जबसम्‍म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्‍यूँझनेछैनन्‌ अथवा आफ्‍ना निद्राबाट तिनीहरू फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌। “तपाईंले मलाई चिहानमा लुकाउनुभए, अनि तपाईंको रीस नहटेसम्‍म मलाई गुप्‍तमा राख्‍नुभए त, तपाईंले मेरो समयको सीमा तोकिदिएर, मलाई सम्‍झनु भए त हुनेथियो! के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्‍ति म प्रतीक्षा गर्नेछु।