YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:7-28

यूहन्‍ना 4:7-28 NNRV

एउटी सामरी स्‍त्री पानी भर्न त्‍यहाँ आई। येशूले त्‍यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्‍न गएका थिए। तब सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्‍बन्‍ध राख्‍दैनन्‌।) येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।” येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्‍यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”। येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।” त्‍यस स्‍त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्‍यौ, किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्‍यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्‍नुहुन्‍छ, कि आराधना गर्ने स्‍थान यरूशलेम हो।” येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ), र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।” त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌। तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी