फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए। यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?”
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।”
निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?”
येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ? साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ? स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।