YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 21:15-19

यूहन्‍ना 21:15-19 NNRV

जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढ़ी प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।” उहाँले फेरि दोस्रो पल्‍ट तिनलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू, प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।” उहाँले तिनलाई तेस्रो पल्‍ट भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस दुःखित भए, किनकि उहाँले तेस्रो पल्‍ट तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भन्‍नुभयो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सब कुरा जान्‍नुहुन्‍छ। म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहा छ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूलाई खुवाऊ। साँच्‍चै, म तिमीलाई भन्‍दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्‍नो पटुका बाँध्थ्यौ, र जहाँ इच्‍छा लाग्छ जान्‍थ्‍यौ। तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्‍ना हात पसार्नेछौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्‍यहाँ लगिनेछौ।” कुन किसिमको मृत्‍युद्वारा तिनले परमेश्‍वरको महिमा गर्नेछन्, त्‍यसको सङ्केत गर्दै उहाँले यो भन्‍नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”