तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए। अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए, र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्पड़ लाए।
फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्छु, म यिनमा केही दोष पाउँदिनँ।” तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”
जब मुख्य पूजाहारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिनँ!”
यहूदीहरूले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।”
यो कुरो सुनेर पिलातस झन् डराए। उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन। यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन?”
येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्पिदिने अझ बढ़ी पापको दोषी छ।”
त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढ़ी प्रयत्न गरे। तर यहूदीहरू यसो भन्दै कराए, “यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्न। आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्येक कैसरको विरुद्धमा खड़ा हुन्छ।”
पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए, र उनी “ढुङ्गाका पाटी” भनिने ठाउँमा (जसलाई हिब्रूमा गब्बथा भनिन्छ) न्याय आसनमा बसे। त्यस समय निस्तार-चाड़का तयारीको दिन थियो। दिउँसोको करीब बाह्र बजेको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
तर तिनीहरू यसो भन्दै चिच्च्याए, “लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
पिलातसले तिनीहरूलाई सोधे, “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ?”
मुख्य पूजाहारीहरूले जवाफ दिए, “कैसरबाहेक हाम्रो अरू राजा छैन।”
तब उनले उहाँलाई क्रूसमा टाँग्न तिनीहरूका हातमा सुम्पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्मा लिए।
उहाँ आफ्नो क्रूस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्छ। त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र उहाँसँग अरू दुई जनालाई टाँगे, एक जनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई।
पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए। त्यसमा यही लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा।” अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्यो’ भनी लेख्नुहोस्।”
पिलातसले जवाफ दिए, “मैले जे लेखें, लेखें।”