म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्। मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।
“म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्। जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो।
“तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो। जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्।
“म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
“पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो।
“धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्। मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”