YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-14

यूहन्‍ना 1:1-14 NNRV

आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन। परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌। अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।