YouVersion लोगो
खोज आइकन

यर्मिया 32

32
यर्मियाले एउटा खेत किनेका
1यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो— #२ राज २५:१-७ 2त्‍यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए।
3यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्‍दै अगमवाणी कहन्‍छस्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्‍यसले यो लिइहाल्‍नेछ। 4यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्‍कनेछैन, तर त्‍यो निश्‍चय नै बेबिलोनका राजाको हातमा सुम्‍पिइनेछ, र त्‍यससित आमनेसामने भएर आफ्‍नै आँखाले त्‍यसलाई देख्‍नेछ र कुरा गर्नेछ। 5त्‍यसले सिदकियाहलाई बेबिलोनमा पुर्‍याउनेछ, र जबसम्‍म म त्‍यसलाई उचित व्‍यवहार गर्दिनँ, तबसम्‍म त्‍यो त्‍यहीँ रहनेछ, परमप्रभु भन्‍नुहुन्‍छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस्‌ भने तँ सफल हुनेछैनस्‌’।”
6यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो: 7तेरो काका शल्‍लूमको छोरो हनमेल तँकहाँ आएर भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्‍यो किनेर छुटाउने हक र कर्तव्‍य तपाईंकै हो’।
8“तब परमप्रभुले भन्‍नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्‍यो, ‘बेन्‍यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्‌। त्‍यसलाई छुटाउने र त्‍यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्‍यो तपाईंले आफ्‍नै निम्‍ति किन्‍नुहोस्‌।’
“यो परमप्रभुको वचन रहेछ भनी मैले जानें। 9यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल#32:9 अर्थात्‌ करीब २०० ग्राम दाम त्‍यसलाई जोखेर दिएँ। 10मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ। 11तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ, 12र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्‍ने त्‍यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्‍पिदिएँ।
13“मैले बारूकलाई तिनीहरूकै सामुन्‍ने यसो भनेर आदेश दिएँ: 14‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्‍म रहून्‌। 15किनभने सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्‌।’
16“नेरियाहको छोरो बारूकलाई त्‍यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें:
17“हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन। 18हजारौँ हजारलाई तपाईं आफ्‍नो प्रेम देखाउनुहुन्‍छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्‍छ। हे महान्‌ र शक्तिशाली परमेश्‍वर, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, 19तपाईंका अभिप्राय महान्‌ र तपाईंका कामहरू शक्तिशाली छन्‌। मानिसहरूका सबै चाल तपाईंको दृष्‍टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्‍छ। 20मिश्रदेशमा आश्‍चर्यचकित चिन्‍हहरू र आश्‍चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्‍म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्‍याति प्राप्‍त गर्नुभएको छ, जो आजसम्‍म तपाईंकै छ। 21तपाईंले नै आफ्‍नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्‍याउनुभयो। 22तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। 23तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्‍यवस्‍थाअनुसार तिनीहरू चलेनन्‌। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्‌। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्‍याउनुभयो।
24“हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्‍यो सुम्‍पिइनेछ। तपाईंले जे भन्‍नुभएको थियो, त्‍यो पूरा भयो, जुन कुरा तपाईं देख्‍दैहुनुहुन्‍छ। 25अनि हे परमप्रभु परमेश्‍वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्‍पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन्‌ र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्‍नुहुन्‍छ।”
26तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 27“सबै मानव-जातिका परमेश्‍वर म हुँ। के कुनै कुरो मेरो निम्‍ति कठिन छ र? 28यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्‍यसले यसलाई लिनेछ। #२ राज २५:१-११; २ इति ३६:१७-२१ 29यस सहरलाई आक्रमण गर्ने बेबिलोनीहरू आएर यसलाई आगो लगाइदिनेछन्, र ती घरहरूलाई पनि जलाइदिनेछन्, जहाँ-जहाँ मानिसहरूले मलाई क्रोधित तुल्‍याउनलाई बाल देवताको लागि कौसी-कौसीमा धूप बाले, र अरू देवताहरूलाई अर्घ-बलि चढ़ाए।
30“इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूले युवावस्‍थादेखि नै मेरो सामुन्‍ने खराबबाहेक अरू केही गरेका छैनन्‌। साँच्‍ची नै इस्राएलका मानिसहरूले आफ्‍ना हातका कामद्वारा मलाई रीस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, परमप्रभु भन्‍नुहुन्‍छ। 31यो बनाइएको दिनदेखि आजको दिनसम्‍मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्‍याएको छ, यहाँसम्‍म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ। 32इस्राएलका र यहूदाका मानिसहरू, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूले दुष्‍ट काम गरेर मलाई क्रोधित तुल्‍याएका छन्‌। 33तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्‍यालै तिनीहरूले गरेनन्‌। 34मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्‍ना घिनलाग्‍दा देवताहरू खड़ा गरे र त्‍यसलाई बिटुलो पारे। #२ राज २३:१०; यर ७:३०-३१; १९:१-६ 35आफ्‍ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताका अल्‍गा-अल्‍गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्‍ता घिनलाग्‍दा काम तिनीहरूले गरून्‌ भनी मैले तिनीहरूलाई कहिल्‍यै आज्ञा दिइनँ, न यस्‍तो कुरो कहिल्‍यै मेरो मनमा आएको थियो। #लेवी १८:२१; २ राज २३:१०; यर ७:३१
36“यस सहरको विषयमा तिमीहरू भन्‍दैछौ, ‘यो त तरवार, अनिकाल र रूढ़ीद्वारा बेबिलोनका राजाको हातमा दिइनेछ’। तर परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: 37‘म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रीस र अत्‍यन्‍त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्‍याउनेछु र सुरक्षितसाथ बस्‍न दिनेछु। 38तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु। 39म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्‍नै र तिनीहरूका पछि आउने सन्‍तानका भलाइको निम्‍ति सधैँभरि मेरो डर मानून्‌। 40तिनीहरूसित सधैँको निम्‍ति म करार बाँध्‍नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्‍यै छोड्‍नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन्‌ भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु। 41तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्‍चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्‍नेछु।
42“परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले यस प्रजामाथि यस्‍तो ठूलो विपत्ति ल्‍याएँ, त्‍यसैले मैले प्रतिज्ञा गरेको सबै उन्‍नति म तिनीहरूलाई दिनेछु। 43फेरि यस देशमा जग्‍गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्‍दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्‍थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’। 44बेन्‍यामीनको इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा, यहूदाका नगरहरूमा, पहाड़ी देशका नगरहरूमा, तराई र नेगेवका नगरहरूमा चाँदी दिएर जग्‍गाजमिन किनिनेछन्, र तमसुकहरूमा साक्षी राखेर छाप लगाइनेछन्, किनभने म तिनीहरूका सुख-शान्‍ति फेरि ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

यर्मिया 32: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्