परमप्रभुको यो वचन मकहाँ आयो: “जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा। इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ।
हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।
परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्याए। तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’ मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्यायौ। ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ पूजाहारीहरूले भनेनन्। व्यवस्था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्यर्थैका मूर्तिहरूका पछि लागे।
“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्नुहुन्छ। कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त? के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो। हे आकाशमण्डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्नुहुन्छ। “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।