YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 9:1-21

न्यायकर्ताहरू 9:1-21 NNRV

यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्‍नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्‍नो मावली घरानाका सबैलाई तिनले भने, “कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्‍नुहोस्‌: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्‍ने कुरो सम्‍झना राख्‍नुहोस्‌।” जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्‍नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्‍नै भाइ हुन्‌”? भनी तिनीहरूले भने। तिनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी सिक्‍का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे। त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्‍लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्‍बामा अबीमेलेकलाई राजा बनाए। जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्‍जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्‍च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्‍वरले तिमीहरूको कुरा सुनून्‌।” एक पल्‍ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’ “तर भद्राक्षको रूखले जवाफ दियो, ‘देवताहरू र मानिसहरूलाई मान दिने आफ्‍नो बहुमूल्‍य तेललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’ “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’ “तर नेभाराको रूखले भन्‍यो, ‘आफ्‍नो असल र मीठो फललाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’ “तब रूखहरूले अंगूरको बोटलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’ “अंगूरको बोटले जवाफ दियो, ‘देवता र मानिसलाई खुशी तुल्‍याउने मेरो दाखमद्यलाई त्‍यागेर रूखहरूमाथि मैले शासन गर्ने?’ “अन्‍त्‍यमा सबै रूखहरूले काँढ़ाको पोथ्रालाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’ “काँढ़ाको पोथ्राले रूखहरूलाई भन्‍यो, ‘यदि तिमीहरू साँच्‍ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्‍छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्‍केर लेबनानका देवदारुहरूलाई स्‍वाहा पारोस्‌।’ त्‍यसपछि योतामले भने, “यसकारण अब हेर, यदि अबीमेलेकलाई राजा तुल्‍याएर तिमीहरूले सत्‍य र ईमानदार काम गरेका छौ भने, र तिमीहरूले यरूब-बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्‍यवहार गरेका छौ भनेदेखि— मेरा पिताले तिमीहरूको निम्‍ति लड़ाइँ गरे र आफ्‍नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए, तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्‍नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्‍याएका छौ— यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्‍य र ईमानदार व्‍यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्‍यो तिमीहरूसँग खुशी होस्‌! यदि होइन भने, अबीमेलेकबाट अग्‍नि निस्‍कोस्‌ र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्‍लोलाई भस्‍म पारोस्‌। शकेमका नगरवासीहरू र बेथ-मिल्‍लोका सबैबाट पनि अग्‍नि निस्‍केर अबीमेलेकलाई भस्‍म पारोस्‌!” त्‍यसपछि योताम सुटुक्‍क भागे। तिनी बेअर भन्‍ने ठाउँमा पुगे, र त्‍यहीँ नै बसोबास गर्न लागे, किनकि तिनी आफ्‍ना दाजु अबीमेलेकसँग डराउँथे।