यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि तिनीहरू हरेक त्यस देशमा आ-आफ्नो भागमा परेको जग्गा ओगट्नलाई गए। यहोशू जीवित रहुञ्जेल र तिनका पछिका धर्म-गुरुहरू बाँचुञ्जेल, जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका जम्मै ठूला-ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे। नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे, र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े। त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो। जे परमप्रभुको दृष्टिमा खराब थियो, इस्राएलीहरूले त्यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे। तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्ना वरिपरि बस्ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्याए। तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अश्तोरेत देवताहरूलाई पुजे। परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्नेहरूका शिकार तुल्याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्ना शत्रुहरूका सामुन्ने टिक्न सकेनन्। हरेक पल्ट तिनीहरू लड़ाइँ गर्न निस्कँदा परमप्रभुले आफ्नो गम्भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्टमा परे। त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए। तर तिनीहरूले यी न्यायकर्ताहरूका कुरा पनि सुनेनन्। तिनीहरू व्यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्ना पिता-पुर्खाहरू हिँडेका परमेश्वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए। जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो, र तिनी बाँचुञ्जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्नुहुन्थ्यो। किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो। तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्ना पुर्खाहरूभन्दा पनि अझ बढ्ता भ्रष्टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्दै र उनीहरूका सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्ना दुष्ट व्यवहार र हठी चाललाई छोड्न अस्वीकार गरे। यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले, अब यहोशूले आफ्नो मृत्युको समयमा छोड़ेका यी सबै जातिहरूमध्येको एउटै जातिलाई पनि इस्राएलीहरूका लागि जग्गा बनाउनलाई म धपाउनेछैनँ। तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्छन् कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्नेछु।” परमप्रभुले ती जातिहरूलाई त्यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन।
न्यायकर्ताहरू 2 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 2:6-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू