YouVersion लोगो
खोज आइकन

यशैया 51:12-23

यशैया 51:12-23 NNRV

“तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्‍तै ओइलाउने मानिसका सन्‍तानदेखि डराउने तँ को होस्‌? आकाशलाई फैलाउनुहुने र पृथ्‍वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्‍याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्‍छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्‌? झुकेर लत्रक्‍क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्‌। तिनीहरू झ्‍यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ। किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍छ, र छालहरू गर्जन्‍छन्‌। उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्‍यसको ठाउँमा राखेको छु, र पृथ्‍वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्‌’ भनेको छु।” ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्‍यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्‌। त्‍यसले जन्‍माएका सबै छोराहरूमध्‍ये त्‍यसलाई डोर्‍याउने कोही पनि थिएन। त्‍यसले हुर्काएका छोराहरूमध्‍ये त्‍यसलाई हातमा समातेर लैजाने कोही थिएन। यी दुई विपत्ति तँमाथि आइलागेका छन्‌— तँलाई कसले सान्‍त्‍वना दिन सक्‍छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्‍त्‍वना दिन सक्‍छ? तेरा छोराहरूले त मूर्च्‍छा खाएका छन्‌। जालमा परेको चित्तलझैँ तिनीहरू सड़कका कुइन्‍याटोमा पड़िरहेका छन्‌। तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्‍वरको हप्‍काइले पूरा भरिएका छन्‌। यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन। तेरा परमप्रभु, तेरा परमेश्‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ, उहाँ यो भन्‍नुहुन्‍छ: “हेर्, मैले तेरो हातबाट त्‍यो धरमराइदिने कचौरा लिएको छु, त्‍यो मेरो क्रोधको कचौरा! तैंले त्‍यो फेरि कहिल्‍यै पिउनेछैनस्‌। म त्‍यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्‍टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्‍नो पीठ भूइँ र हिँड्‌ने सड़कजस्‍तै तुल्‍याइदिइस्‌।”