YouVersion लोगो
खोज आइकन

यशैया 33:1-16

यशैया 33:1-16 NNRV

धिक्‍कार, तँ नाश गर्नेलाई, जो आफैचाहिँ नष्‍ट पारिएको छैनस्‌! तँ विश्‍वासघातीलाई, धिक्‍कार, जसलाई चाहिँ कसैले विश्‍वासघात गरेको छैन! जब तैंले नाश गर्न बन्‍द गर्छस्, तब तँ पनि नष्‍ट पारिनेछस्‌। जब तैंले विश्‍वासघात गर्न बन्‍द गर्छस्, तब तँलाई विश्‍वासघात गरिनेछ। हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्‌। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्‍छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्‌। तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्‍छन्‌। तपाईं उठ्‌नुहुँदा जाति-जातिहरू छरपष्‍ट हुन्‍छन्‌। हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्‍यसमा झम्‍टिनेछन्‌। परमप्रभु उच्‍च हुनुभएको छ, किनकि उहाँ उच्‍चमा विराजमान हुनुहुन्‍छ। उहाँले सियोनलाई न्‍याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ। तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो। हेर त, तिनीहरूका वीर मानिसहरू सड़कमा जोडसित रुँदैछन्‌। मिलाप ल्‍याउने राजदूतहरू धुरुधुरु रुँदैछन्‌। मूल सड़कहरू निर्जन भएका छन्, बाटोमा यात्रीहरू छैनन्‌। सन्‍धि भङ्ग भएको छ, गवाहीहरू अवहेलित भएका छन्‌। कोही पनि मानिसको आदर छैन। देशले विलाप गर्छ र उजाड़ हुन्‍छ। लेबनान शर्ममा पर्छ र ओइलिन्‍छ। शारोन अराबाझैँ हुन्‍छ। बाशान र कर्मेलले आफ्‍ना पातहरू झार्छन्‌। परमप्रभु भन्‍नुहुन्‍छ, “अब म उठ्‌नेछु। अब म उच्‍च पारिनेछु। अब म माथि उठाइनेछु। तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराले ठोसाहरू जन्‍माउँछौ। तिमीहरूको सास तिमीहरूलाई नै भस्‍म गर्ने अग्‍नि हो। मानिसहरू चून जलेझैँ जल्‍नेछन्‌। काटेका काँढ़ाघारी आगोमा जलाएझैँ तिनीहरू जलाइनेछन्‌।” हे टाढ़ाका मानिस हो, मैले के गरेको छु सुन। हे नजिकका हो, मेरो शक्तिलाई स्‍वीकार गर! सियोनमा भएका पापीहरू डराएका छन्‌। ईश्‍वरहीनहरूलाई कम्‍पनले समातेको छ। “भस्‍म गर्ने आगोसँग हामीहरूमध्‍ये को बस्‍न सक्‍छ र? अनन्‍त जलनमा हामीहरूमध्‍ये को रहन सक्‍छ र?” त्‍यही, जो धार्मिकतासाथ हिँड्‌दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्‍कार गर्छ, जसले घूस लिन आफ्‍नो हात बढ़ाउँदैन, जसले हत्‍याका षड्‌यन्‍त्रप्रति आफ्‍नो कान थुन्‍छ, दुष्‍ट्याइँको चिन्‍तन गर्नुभन्‍दा आफ्‍नो आँखा चिम्‍लन्‍छ। त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।