YouVersion लोगो
खोज आइकन

यशैया 2:12-22

यशैया 2:12-22 NNRV

सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌), लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि, सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि, हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि, तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि। मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ, र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌। जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌। त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌। जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌। नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?