YouVersion लोगो
खोज आइकन

हिब्रू 9:16-28

हिब्रू 9:16-28 NNRV

किनकि जहाँ इच्‍छापत्रको प्रश्‍न छ त्‍यहाँ इच्‍छापत्र लेख्‍नेको मृत्‍यु भएको प्रमाणित हुनुपर्दछ। उसको मृत्‍यु भएपछि मात्र इच्‍छापत्र पक्‍का हुन्‍छ, किनकि इच्‍छापत्र दिने बाँचुञ्‍जेल त्‍यो पक्‍का ठहर्दैन। यसकारण पहिलो करार पनि रगतविना पक्‍का हुन सकेन। जब मोशाले व्‍यवस्‍थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्‍याउलासहित, व्‍यवस्‍थाको पुस्‍तकमाथि र सबै मानिसहरूमाथि छर्के। अनि उनले यसो भने, “परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।” यसै गरी उनले पवित्र वासस्‍थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्‍यसै किसिमले रगत छर्के। वास्‍तवमा, व्‍यवस्‍थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्‍दैन। यदि स्‍वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्‍वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्‍यकता पर्‍यो। ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ। येशू आफैलाई बारम्‍बार बलि चढ़ाउन स्‍वयम्‌ पस्‍नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्‍दा आफ्‍नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्‍थानभित्र प्रवेश गर्ने गर्दछन्‌। नत्रता संसारको उत्‍पत्तिदेखि नै उहाँले बारम्‍बार दुःख भोग्‍नुपर्नेथियो। तर यस युगको अन्‍त्‍यमा आफ्‍नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्‍ति एकै पल्‍ट प्रकट हुनुभएको छ। जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ, त्‍यसरी ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्‍ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्‍ट देखा पर्नुहुनेछ, पाप बोक्‍नका निम्‍ति होइन, तर उत्‍सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्‍ति।