YouVersion लोगो
खोज आइकन

हिब्रू 9:1-14

हिब्रू 9:1-14 NNRV

पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए। एउटा पवित्र वासस्‍थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्‍थान भनिन्‍थ्‍यो। दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्‍थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए। सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं। अब यी कुराहरूको प्रबन्‍ध गरिसकेपछि पूजाहारीहरू आफ्‍ना विधि र कर्तव्‍य पालन गर्दै निरन्‍तर बाहिरपट्टिको पवित्रस्‍थानभित्र प्रवेश गर्थे। तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌। यसैबाट पवित्र आत्‍मा देखाउनुहुन्‍छ, कि जबसम्‍म बाहिरपट्टिको पवित्रस्‍थान रहिरहन्‍छ, तबसम्‍म महापवित्रस्‍थानभित्र जाने बाटो खुल्‍नेछैन। यो त अहिले वर्तमान समयको निम्‍ति एक दृष्‍टान्‍त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्‍याउन सक्‍दैनन्‌। ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए। जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन। बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो। बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने, ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो।